प्रधानमन्त्रीको ‘विवादास्पद’ टिप्पणीबारे के झाँक्रीले देलिन उजूरी ?

प्रधानमन्त्रीको ‘विवादास्पद’ टिप्पणीबारे के झाँक्रीले देलिन उजूरी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीका विरुद्धमा विदास्पद टिप्पणी गरेपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ ।

शनिबार विराटनगरमा आफु नेतृत्वको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जोडेर झाँक्रीका बारेमा विवादास्पद टिप्पणी गरेका थिए । उनले बोलेका कुराहरुको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक विरोध जनाएका छन् ।

विभिन्न व्यक्ति तथा महिलावादी संघ संस्थाहरुले प्रधानमन्त्रीले व्यक्तिगत रुपमा झाँक्रीको आलोचना तथा मानमर्दन गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार विराटनगर पुगेर ओलीले प्रचण्डको खुबै माया लाग्ने भन्दै उनलाई झाँक्रीले पनि बचाउन नसक्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीले प्रचण्डप्रति कटाक्ष गर्दै वैद्य, डाक्टर पछि झाँक्रीको साथ मिलेको बताए पनि झाँक्रीले प्रचण्डलाई बचाउन नसक्ने टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘प्रचण्डजीको त मलाई खुब माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन ।’

यसअघि नेतृ झाँक्रीले गोरखा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा व्यक्तिगत रुपमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनी प्रहरी हिरासतमा पुग्नु परेको थियो ।

झाँक्रीले एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीलाई सेतो साडीको आडमा राजनीतिक गरेको भन्दै खुल्ला राजनीतिमा आउन चुनौती दिएकी थिइन् ।

उनले खुला रुपमै राष्ट्रपतिलाई शितल निवासबाट निस्केर बालकोट गएर बस्न भनेकी थिइन् । स्मरण रहोस् बालकोटमा प्रधानमन्त्री ओलीको घर छ । यसरी राष्ट्रपतिको मानमर्दन गरेको भन्दै नेकपाको अखिल नेपाल महिला (अनेम) संघले झाँक्रीलाई कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए ।

राष्ट्रपतिको मानमर्दन गरेको भन्दै पक्राउ गर्न दबाब दिने प्रधानमन्त्रीले अर्की महिलामाथि गरेको भद्दा टिप्पणीले मानमर्दन भयो कि भएन भन्ने आम जनमानसमा प्रश्न उब्जिएको छ ? तर महिलाकै रुपमा मानमर्दन भएको मान्ने हो भने प्रधानमन्त्री विरुद्ध झाँक्रीले पनि मानमर्दन गरेको उजुरी गर्न सक्नेछिन् ।

झाँक्रीले प्रधानमन्त्री विरुद्ध उजूरी गर्छिन या गर्दिनन् यो सबैको चासोको विषय बनेको छ । तर झाँक्रीले यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले यदि उजूरी दिइन् भने प्रधानमन्त्रीलाई प्रहरीले गिरफ्तार गर्ला कि नगर्ला ? यो विषय भने निकै चासोको विषय बनेको छ ।