काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बुधबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दुई दिन बाँकी रहँदा राजदूत छन्ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् । नेपाल आएपछि राजदूत छन्को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो ।
प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेटवार्ता गरेका थिए।
राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन्। चिनियाँ राजदूत छन सोङ पनि दलका शीर्ष नेतासँग भेटघाटमा सक्रिय बनेका हुन्।




प्रतिक्रिया