काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । नेकपा एमालेको प्रचार विभाग उपप्रमुख समेत केन्द्रीय सदस्य विष्णु रिजालले एमालेले सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी)लगायतका सबै दलहरुलाई आइतबार अपरान्ह् ४ बजेका लागि बोलाइएको छ ।
तर, एमालेले माधव नेपाल नेतृत्वको पार्टीलाई बैठकमा बोलाइएपछि बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । एमाले नेता रिजालले सर्वदलीय बैठकमा दलविहीन मान्छेहरूलाई बोलाइएकाले बहिस्कार गर्न लागिएको जानकारी दिए ।
संसदको प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ देखी संसद बैठक अवरोध गरिरहेको छ । आफ्नो दलले कार्वाही गरेका १४ सांसदहरुको सुचना सभामुख अग्नी सापकोटाले टांस नगरेका कारण एमाले रुष्ट छ ।
सर्वदलिय बैठकमा संसदलाई सुचारु गर्ने र अमेरिकी परियोजना एमसीसीलाई अघि बढाउने विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसदमा टेबल गर्ने तयारी गरेका छन् । त्यसका लागी उनले सबै दलहरुसंग छलफल गर्न लागेको स्रोतको दावी छ । उनले दलहरुबीच सहमति नभएपनि प्रस्ताव अघि बढाउने तयारी गरेका हुन ।
एमसीसीलाई अघि बढाउने विषयमा सत्तारुढ दलभित्रै समेत विवाद छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा छन् । उनले एमसीसीलाई रोक्न आफु निकट अधिवक्तालाई सर्वोच्चमा रिट समेत दर्ता गर्न लगाएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेर एमसीसी तत्काल अघि नबढाउनका लागी फैसला गरिदिन अनुरोध गरेको उच्च स्रोतले दावी गरेको छ ।
तर, प्रचण्डको आग्रहअनुसार उक्त रिट निवेदनमा फैसला नभएपछि प्रचण्डले राणालाई दोस्रो पटक समेत भेटेर त्यसलाई जुन अवस्थामा छ त्यही अवस्थामा राख्ने फैसला गरिदिन आग्रह गरेको राणा निकट स्रोतले जानकारी दियो ।
यही पुस ६ गते बस्ने संसद् बैठकमा नै एमसीसीलाई अघि बढाउने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागी उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग समेत छलफल गरिसकेका छन् । एमसीसीलाई लिएर गठबन्धन भत्केपनि प्रधानमन्त्री त्यसलाई अघि बढाउनेमा छन् ।
एमाले अध्यक्ष ओलीले यसअघि नै एमसीसीलाई अघि बढाउन खोज्दा तत्कालिन नेकपाभित्र विवाद बढेको थियो । त्यो विवादकै कारण पार्टीको विभाजन समेत भएको थियो । एमालेले अहिले संसदमा टेबल भए आफ्नो दलले के गर्ने भन्नेबारे निर्णय गर्ने बताउंदै आएको छ । एमसीसी सरकारले पहिले संसदमा पेश गर्नुपर्ने त्यसपछि पार्टीले निर्णय लिने एमालेका नेताहरु बताउंदै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शनिवार भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले गठबन्धनको बैठक बोलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेपनि उनले सर्वदलीय बैठक बोलाएपछि प्रचण्ड असन्तुष्ट बनेको बताइन्छ ।




प्रतिक्रिया