बल्नेहरुको चुलो बलेकै छ, चुलो नबल्नेहरुको पनि बल्नुपर्छ : प्रधानमन्त्री ओली

बल्नेहरुको चुलो बलेकै छ, चुलो नबल्नेहरुको पनि बल्नुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु समाजवादतर्फ जाने भन्दा केही मान्छेहरु आत्तिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोल्दै ओलीले चुलो नबल्नेहरुको चुलो पनि बल्नुपर्छ भन्दा ती मान्छे छटपटाएकोमा आश्चर्य व्यक्त गरे ।

‘हामी समाजवादतर्फ जान्छौँ भन्दा केही मान्छेहरु आत्तिएका छन्,’ ओलीले भने, ‘समाजवादमा जाने भए अब गरिबले पनि खान पाउँछन् कि भनेर छट्पटाएका छन् । बल्नेहरुको चुलो बलेकै छ, चुलो नबल्नेहरुको पनि बल्नुपर्छ भन्दा चुलो बल्नेहरुलाई पीर किन ?’

एमालेको केन्द्रीय प्रचार विभागले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान समारोहमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सो पुरस्कार कमल कोइरालालाई प्रदान गरिएको छ ।

कोइराला पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा पनि हुन् । लामो समयदेखि वामपन्थी राजनीति र पत्रकारितामा सक्रिया कोइरालालाई सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले पार्टी एकता भारत भ्रमणअघि कि पछि भन्ने प्रश्नै नरहेको स्पष्ट पारे ।

‘पार्टी एकताका विषयमा विभिन्न हल्लाहरु छन् म हल्लाका पछि नलाग्न अनुरोध गर्छु । एमाले र माओवादी केन्द्र तुरुन्तै एकताबद्ध हुनेछन् । केहीले भनेका छन् एकता भारतभन्दा अघि कि पछि ? एकता गर्न सके कि सकेनन् एकता एउटा प्रक्रियाबाट हुने चीज हो । भारत भ्रमण अघिपनि हुन सक्छ पछिपनि हुनसक्छ । यो हतारो गर्ने र ढिला गर्ने कुरा होइन । ठीक समयमा पार्टी एकता हुन्छ,’ उनले भने ।