जमीन टुक्रिनु नै कृषिको आधुनिकीकरणका निम्ति ठूलो समस्या : प्रधानमन्त्री ओली


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कृषिको व्यावसायीकरण गरी त्यसमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने बताएका छन्।

राष्ट्रिय किसान आयोगले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परम्परागत कृषि पद्धतिबाट जीवन निर्वाह गरिहेको जनसङ्ख्यालाई व्यावसायिक एवम् आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्न अभिप्रेरित गर्नुपर्ने बताए।

देशलाई आर्थिक–सामाजिक रुपान्तरणको मार्गमा अग्रसर तुल्याउन त्यसो गर्नु अपरिहार्य भएको प्रधानमन्त्रीको आशय थियो । भूमिको अधिकतम् उपयोग गर्ने, विविध बाली विकास गरी जुनसुकै याममा उत्पादन गरिरहने र जग्गा बाँझो छाड्न नहुनेमा जोड दिँदै कृषिमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर सोच्न र तद्नुरुप काम गर्नु अहिलेको आवश्यकता भएको उनले बताए।

प्रधानमन्त्री ओलीले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषिमा निर्भर रहेका तर व्यावसायिक बन्न नसकेको वास्तविकता औँल्याउँदै उत्पादन र उत्पादकत्व वृद्धिमा मात्र नभई स्वस्थकर उत्पादन हुनुपर्छ भने। मुनाफा कमाउनेतर्फ मात्र आफूलाई केन्द्रित नगरी विषादीरहित उत्पादनतर्फ लक्ष्य गर्दै उनले त्यसो भनेका हुन्।

भूमि निजी सम्पत्तिका रुपमा रहनु र जमीन टुक्रिनु नै कृषि विकास र कृषिको आधुनिकीकरणका निम्ति ज्यादै ठूलो समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समस्याबाट पार पाउन दुई उपाय हुनसक्छ, कृषिलाई हामीले निजी सम्पत्तिका रुपमा नमानी राज्यको सम्पत्ति बनाई भाडामा लिन सक्नुपर्छ, त्यसो नगरे जमीनमा किसान मिलाएर सहकारीको माध्यमबाट अगाडि बढ्ने बाटो समाउनु पर्छ ।’

जमीनलाई निजी सम्पत्तिबाट सार्वजनिक सम्पत्ति भन्ने अवस्था अहिले नरहेकाले किसानलाई मिलाएर सहकारीमा जाने बाटो खोज्नु नै उपयुक्त रहेको र यसका निम्ति कृषि र सहकारी सँगसँगै अगाडि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘नत्र एक रोपनी वा पाँच, दश कट्ठा जमीनमा न ट्र्याक्टर चल्छ, न एक हल गोरु पालेर फाइदा हुन्छ, न कोदालोले खनेर साध्य हुन्छ, कसै गरेपनि नभएपछि मान्छे खेतमा सिसौ लगाउन थाल्छ,’ उनले भने।

आर्थिक समृद्धिको सङ्घारमा आयोजना भएको यो सम्मेलनमा बहुआयामिक विषयमा छलफल हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कृषि र वन, कृषि र जल, कृषि र जमीनका पक्षमा जनतालाई कसरी जोड्ने र कसरी सही सदुपयोग गर्ने भन्ने विषयमा चिन्तन गर्न जरुरी रहेको आैल्याए।

प्रतिक्रिया दिनुहोस
Advertisement