स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने–लुटेरा समूहलाई चन्दा नदिनू


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने बताए। ‘जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विस्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाए। ‘अवसरहरु सक्षम र गरिबलाई दिनुहोस आफ्ना छोराछोरीलाई होइन,’ उनले भने, ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।’

प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारे। पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिँड्नेहरुले अहिले यसको विरोध गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘लुटपाट गर्ने समूहलाई चन्दा नदिनू होला।’ ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस,’ प्रधानमन्त्री ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन।’ यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ,गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement