केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गरिरहेः प्रधानमन्त्री

केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गरिरहेः प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको र सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने बताएका छन् ।

मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने विभिन्न षड्यन्त्र भइरहेको बताए ।

अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उनले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गरे । उनले भने ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ।’

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताए ।

छुटेकाहरु बाँकी संगठनमा समेटिदै जाने भन्दै उनले एकता र एकीकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढ्न सबैलाई आग्रह पनि गरे । उनले भने ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई ध्यानमा राख्दै अघि बढ्ने हो ।’

अब दुवै पार्टी अन्तरघुलित भएर एक भएको भन्दै उनले यसैलाई बुझेर सबै नेतृत्व पाउने साथीहरुले जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विश्वास लिएको पनि उनले बताए ।

एकताका केही काम बाँकी रहेको भए पनि ती कामले केही दिन भित्र नै पूर्णता पाउने पनि उनले विश्वास दिलाए । उनले पराजित प्रतिक्रियावादी शक्तिहरुले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै नागरिकको खुसीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि धेरै चुनौति रहेको बताए ।

उनले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार जस्ता कुरामा सरकार कठोरताका साथ लागिरहेको भन्दै सरकारले गरिरहरहेको कामविरुद्ध केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गरिरहेको भन्दै त्यसलाई परास्त गर्दै अघि बढ्ने बताए ।