प्रधानमन्त्रीको प्रश्नः हिजो बम पड्काउने ‘आतंककारी’ समूहको माग के हो ?

प्रधानमन्त्रीको प्रश्नः हिजो बम पड्काउने ‘आतंककारी’ समूहको माग के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताए। ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ? उनको प्रश्न थियो ।

प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोधे, ‘अब के चाहियो ?’ सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको उनले बताए।

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने बताए। संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताए। ‘ प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता औंल्याए। ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगतरुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन,’ ओलीले भने, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने बताए। उनले मानवअधिकारलाई एउटा पक्षबाटमात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने बताए।

प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताए। ‘तानाशाहीमा मानवअधिकारको चर्चा हुँदैन,’ उनले भने।

घरघरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले घरघरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिए।