काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सधैँका लागि स्थगित नगरिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधि (प्रयोगशाला) तयारी पूरा गरेर फेरि विषादी परीक्षण हुने बताएका हुन्। प्रयाप्त प्रयोगशाला नभएको भन्दै गत बिहीबारको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगनको निर्णय गरेको थियो।
सांसदहरूले भारतबाट आउने तरकारी तथा फलफूलहरूमा विषादी जाँच्ने काम बन्द गरेकोमा प्रश्न गरेका थिए।
प्रम ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताए। पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न पनि उनले सुझाए।
‘पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ,’ उनले भने, ‘पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए।
आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन्,’ ओलीले भने।
बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राखेका थिए। दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।




प्रतिक्रिया