प्रजननमा भन्दा व्यवस्थापनमा ध्यान दिनुस् : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएका शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएका हुन् ।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ । प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसङ्ख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।’

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाए ।

कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको सन्दर्भमा सरकार किशोरकिशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अतिकतम योगदान र्पुयाउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement