काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरूसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरूको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
बिहीबार यो वर्षको पहिलो समीक्षात्मक बैठक थियो । अघिल्लो आर्थिक वर्षका चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए । उनले बोल्ने शब्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन । मन्त्रालयहरूबीच समन्वय पुगेन ।’
डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन् । गत बिहीबार पनि उनले मन्त्री र सचिवहरूलाई भने, ‘तपाईंहरू महत्त्वपूर्ण र गेम चेन्जर विकास परियोजनामा केन्द्रित भएर काम गर्नुस्, फाइल कतै पनि नरोकियोस् ।’ सरकारी काममा समन्वय नभएकामा उनी आक्रोशित देखिन्थे । ‘मैले बारम्बार भनिरहेको छु, फेरि दोहोर्याउँछु, तपाईंहरू विकास निर्माणको काममा किन समन्वय गर्नुहुन्न ? आज बाटो बनाएको छ, भोलि ढल खनेको छ, पर्सि पोल उखेलेको छ,’ उनले भने । ओलीले मन्त्री र सचिवहरूलाई सोभियत संघ कसरी ढल्यो भनेर उदाहरणसमेत पेस गरे । यो समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया