काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी शून्यमा झार्ने गरी योजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।
सोमबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गरिबीको रेखामुनी रहेका जनसङ्ख्यालाई शून्यमा झार्ने गरी योजना बनाएर काम गर्न निर्देशन दिएका हुन् ।
ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको आयोगको बैठकले आगामी १५औं योजनाको विस्तृत दस्तावेज पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले उच्च आर्थिक वृद्धिविना चाहेकोजस्तो विकास नहुने भन्दै विकास निर्माणमा तीव्रता दिँदै उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । उनले रोजगारी सिर्जना नगरी गरिबी निवारण गर्न नसकिने भन्दै रोजगारी उपलब्ध हुने योजना कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
प्रधानमन्त्रीले उत्पादन र उत्पादकत्व बढाउने खालका योजना अगाडि सार्नुपर्ने भन्दै विकास निर्माणलाई तीव्रता दिन पनि निर्देशन दिए । १५औं योजना आगामी ५ वर्षका लागि तयार पारिएको हो ।




प्रतिक्रिया