प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वास्थ्य अवस्थाबारे किन बोल्न चाहेनन् ?


काठमाडौं – स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौं आइपुगेका छन् ।  स्वास्थ्य परीक्षणका लागि साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री ओली दिउँसो सवा १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङ, सरकारका अन्य मन्त्रीहरुलगायत विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओली थाइ एयरबाट काठमाडौं आएका हुन् । उनले विमानस्थलमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका पत्रकारहरुसमक्ष आफ्नो स्वास्थ्य अवस्थाको बारेमा केही दिनमा थाहा पाइहाल्ने बताउँदै अरु केही बोल्न चाहेनन् ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै आएका छन् । स्वास्थ्य परीक्षणका रिपोर्टहरु सबै राम्रो देखिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement