काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले आज (मंगलबार) साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको छ । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् ।
प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन ।




प्रतिक्रिया