बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने: अडिओ टेप बाँस्कोटाकै हो भन्ने केही प्रमाण छैन

बाँस्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने: अडिओ टेप बाँस्कोटाकै हो भन्ने केही प्रमाण छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा मुख खोलेका छन् । बिहीबार राजधानीमा आयोजित नेकपाको वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भईनसकेको बताउँदै बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताए ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन,’ ओलीले भने, ‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उहाँले उक्त अडिओ मेरो होइन भन्नुभएको छ । आरोप पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’

बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताउँदै आएका छन् । उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताउँदै आन्दोलनलाई तुहाउन बाँस्कोटामाथि यस्तो खेल भएको बताए । ‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला ।’

प्रधानमन्त्री ओलीले आन्दोलन बदनाम गर्न षडयन्त्र भइराखेको बताउँदै उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए । ‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ । त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने ।

सेक्युरिटी प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार दुई अध्यक्षको निर्देशनमा राजीनामा दिएका थिए ।