प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै छ :प्रधानमन्त्री ओली

प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै छ :प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ सोचविचार गरेर राखिएको बताएका छन् । मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सुविचारित ढंगले, जानी बुझीकन नै मेरो सरकार भन्ने शब्द राखिएको हो ।

भुलचुकमा राखिएको होइन । राष्ट्र प्रमुखले मेरो सरकार भनेर सम्बोधन गर्न आवश्यक छ । मेरो जनता, मेरो भूगोल, मेरो जनता भन्नु एकदम ठीक छ । प्रतिपक्षले पनि मेरै सरकार भने हुन्छ ।’ प्रधानमन्त्रीले अघि भने, ‘राष्ट्रपतिले मेरो सरकार भन्दा अचम्म भो । संविधानमा धेरै कुरा मिलेको छैन, मिलाउँदै जाने हो । मिलाउने क्रममा जारी छ । विपक्षी दलका नेताले प्रयोग गरेको बेलायती महारानी भन्ने उपयुक्त भएन । बेलायतसँग हाम्रो कुटनीतिक सम्बन्ध छ । बेलायती महारानीको सम्बोधनलाई नकारात्मक रुपमा प्रस्तुत गर्न आवश्यक छैन ।

भारतमा प्रणव मुखर्जी जस्तो आजीवन कांग्रेसबाट राजनीति गरेको व्यक्तिले समेत बिजेपी सरकारमा आएपछि मेरो सरकार भन्नुभयो । नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक अभ्यास भएको पार्टीले यस्ता कुरामा रुमलिनु हुँदैन ।’ उनले नीति तथा कार्यक्रम केही लामो भए पनि सबै कुरा समावेश भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षीले गरेको सरकारको विरोध ‘पहाड खन्दा मुसो पनि ननिस्किने’ जस्तो भएको बताए । ‘प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै भएको छ’, उनले भने, ‘राष्ट्रपतिले ‘मेरो सरकार’ भनिन् भनेर आलोचना हुन्छ । विश्वका धेरै देशमा मेरो सरकार भन्ने चलन छ, जनताले मेरो सरकार भन्दा राष्ट्रपतिले किन भन्न हुँदैन ? सबैले मेरो र आफ्नो सरकार भन्नुपर्छ।’

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बेलायतकी महारानीको जस्तो सम्बोधन राष्ट्रपतिको भनेर गरेको टिप्पणीप्रति ओलीले रोष प्रकट गरे । ‘बेलायत हाम्रो मित्र राष्ट्र हो, त्यसैले छिमेकीबारे नकारात्मक टिप्पणी हुनुहुँदैन’, उनले भने, ‘आलोचना गर्दा छिमेकीमाथि आघात पुग्छ भन्ने विपक्षीले हेक्का राखुन्।’ कम्युनिष्ट सिद्धान्त भनेको गरिबीको वितरण गर्नु हो भन्ने कुरा अब ओझेलमा परेको ओलीले बताए।