अबको दुई बर्ष भित्र सबै मालपोत प्रविधि मैत्री बन्छः प्रम ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् ।
कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए । ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए । ‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement