यी डाक्टरले गर्दैछन् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

यी डाक्टरले गर्दैछन् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीको टिमले गर्ने भएको छ ।

ज्ञवालीको टिममा नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह रहेकी छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन् । युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन् ।

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । त्यसका लागि उनी आज साँझ अस्पतालमा भर्ना हुँदैछन् । १३ वर्षअघि ओलीले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

त्यतिबेला उनको शल्यक्रिया गरेका डाक्टरहरूलाई नै अहिले काठमाडौं बोलाउने या नबोलाउने भन्नेबारे दिउँसो ३ बजे बस्ने बैठकले निर्णय लिने प्राध्यापक डाक्टर ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्रीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिने भएकी छन् । गोपनियताका कारण उनको नाम खुलाइएको छैन । यसअघि दिल्लीमा उनलाई बुहारी नाता पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् ।