रोशन खड्का
काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता भारतको वोधगयामा हुने भएको छ। बिहारमा पर्ने वोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री मोदी र ओलीबीचको भेट सेप्टेम्बर १६ मा वोधगयामा हुने पक्का भइसकेको छ।
‘प्रधानमन्त्री ओली दिल्ली हुँदै वोधगया जाने कि सिधै वोधगया जाने भन्ने टुंगो भइसकेको छैन। तर, वोधगयामा भेट हुने कुरा निश्चित भएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले काठमाण्डुपाटीलाई जानकारी दियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली चाटर्ड विमानमार्फत बिहार जाने तयारीमा छन्। उनलाई भेट्न प्रधानमन्त्री मोदी र भारतीय विदेशमन्त्री एस. जयशंकर वोधगया पुग्ने तय भएको छ।
यसैबीच, भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारतीय विदेश सचिव विक्रम मिश्री भोलि काठमाडौं आइपुग्दैछन्। उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ। भ्रमणको तयारीस्वरुप नै उनी काठमाडौं आउन लागेका हुन्।
भारतीय पक्षले प्रधानमन्त्री ओलीको भ्रमण सेप्टेम्बर १५ देखि १७ सम्म हुने प्रस्ताव गरिसकेको छ। विदेश सचिव मिश्रीको नेपाल भ्रमणकै क्रममा भ्रमणको कार्यतालिका टुंग्याउने तयारी भएको जनाइएको छ।
प्रधानमन्त्री नियुक्त भएको १४ महिनासम्म एमाले अध्यक्ष समेत रहेका ओलीले भारत भ्रमण गरेका छैनन्। यसबीच दुवै प्रधानमन्त्रीबीच तीन पटक टेलिफोन वार्ता भए पनि सम्बन्ध सहज हुन सकेको थिएन । तर, गठबन्धन सरकार लामो समयसम्म चल्ने आकलन भएपछि भारतले ओलीलाई भ्रमणको निम्तो दिएको राजनीतिक वृत्तमा चर्चा छ।
प्रधानमन्त्री ओली र मोदीबीच यसअघि बैंकक र न्युयोर्कमा भेटवार्ता भएको थियो। उनीहरूबीच चीनको तियानजिनमा तेस्रो पटक भेट हुन लागेको हो।
प्रधानमन्त्री ओली अगस्ट ३१ मा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने तयारीमा छन्। काठमाण्डुपाटीले यसबारे पहिलोपटक समाचार सार्वजनिक गरेको थियो। प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ। ओलीले विगतको परम्परा तोड्दै आफ्नो पहिलो उच्चस्तरीय विदेश भ्रमण चीनबाट गरेका थिए।
प्रधानमन्त्रीलाई चिनियां पक्षले यसपटकको भ्रमणका लागि जोडबल गरेको थियो। नेपालबाट एससीओमा पहिलो पटक उच्चस्तरीय सहभागिता हुन लागेको हो। प्रधानमन्त्री ओलीले बेइजिङमा विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्ने अवसर पाउनेछन्।
बेइजिङ भ्रमणपछि उनी भारत जाने र त्यहाँ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा समझदारी हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया