काठमाडौैं – राजनीतिक नेतृत्वले उपचार खर्चमा राज्यकोषको ढुकुटी रित्याउने गरेको भनेर सर्वसाधारणले आलोचना गर्ने गरेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको उपचार खर्च व्यक्तिगत रुपमै गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री ओली शनिवार राति उपचारका लागि सिंगापुरतर्फ गएका छन् । व्यक्तिगत खर्चमै भएपनि ओलीले सिंगापुरको सरकारी अस्पतालमा उपचार गराउने जनाइएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नव्यहोर्ने बताए । आईतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भ्रमण टोलीका सदस्यको टिकट खर्च मात्रै सरकारले व्यहोर्ने छ ।
‘कर्मचारीबाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन,’ उनले भने, ‘प्लेन खर्चबाहेक अरु उहाँको निजी खर्च हुनेछ । उपचार खर्च प्रधानमन्त्री स्वयंले व्यवस्थापन गर्नुहुन्छ ।’
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता बाँस्कोटाले बताए । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको स्वास्थ्य परीक्षण हुनेछ र उनी एक हप्तासम्म अस्पतालमा रहने छन् ।
उपचार खर्च आफैं व्यहोर्ने प्रधानमन्त्री ओलीको निर्णय प्रशंसाको विषय बनेको छ । राजनीतिमा सक्रिय नेताहरूले उपचार खर्चका नाममा लाखौं खर्च गरिरहेका समाचार सार्वजनिक हुने बेला प्रधानमन्त्री ओलीले सुखद सन्देश दिएका छन् ।




प्रतिक्रिया