समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक : प्रधानमन्त्री ओली

समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताएका छन् ।

राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अंगीकार गरेको बताएका छन् ।

‘विज्ञान, प्रविधि र नवप्रवर्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारा सहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्नेछ भन्ने मेरो विश्वास छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकास सम्वन्धी नीतिमा समाहित गर्ने भावना अघि सारेको छ । सोही अनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोच बमोजिम वि.सं. २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गरेका छन् ।  वैज्ञानिक ढंगले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।