काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकार अल्लंघनविरुद्ध सरकार सक्रिय रहेको बताएका छन् ।
७१औं विश्व मानव अधिकार दिवसको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव अधिकारको उल्लंघन हुन नदिन र उल्लंघन भए सोको अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका हुन् ।
उनले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरिने बताए । मानव अधिकार र संक्रमणकालीन न्यायप्रति सरकार प्रतिवद्ध रहेको र पीडितलाई न्यायको अनुभूति गराइने प्रतिवद्धता व्यक्त गरे ।
‘मानव अधिकार हाम्रो प्रतिवद्धताको मात्र विषय होइन, हाम्रो आस्था र निष्ठाको विषय हो। यस अवसरमा म सहजताका साथ यति भन्न सक्छ– राजनीतिक जीवन सुरु गरेदेखि अहिलेसम्म मैले बोकेका, अपनाएका र पक्षपोषण गरेका, पृष्ठपोषण गरेका मान्यताहरु संयुक्त राष्ट्र संघको वडापत्रमा आधारित छन्। र, म ती लक्ष्यहरु प्राप्त गर्न क्रियाशील छु, रहनेछु,’ प्रधानमन्त्रीले भनेका छन । हरेक वर्ष १० डिसेम्बरमा यो दिवस मनाइँदै आएकोछ ।




प्रतिक्रिया