काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको विमानमा त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका छन्। सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि प्रस्थान गरेका हुन् । वैशाख २६–३० र वैशाख ३०–जेठ १ गतेसम्मको औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नेछन् ।
कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन् । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्ने छन् ।
प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया