काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने लामो युरोप भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली २५ गते जेनेभाका लागि उड्नेछन् । २६ गते उनले जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
२७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन् । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन् ।
उनी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।
भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ । भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ ।
जेठ २९ गते प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने औपचारिक भ्रमण गर्नेछन् । नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन् ।




प्रतिक्रिया