काठमाडौं – दुई दिने राजकीय भ्रमणमा नेपालमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच ३० मिनेट एक्लै भेटवार्ता भएको छ ।
आइतबार नेपाल र चीनबीच सहमति पत्रमा हस्ताक्षर भएलगत्तै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच होटल सोल्टीमा छुट्टै वान टु वान भेटवार्ता भएको हो । राष्ट्रपति सीको नेपाल बसाई सकिएसँगै प्रधानमन्त्री ओलीले सीसँग विदाई भेटवार्ता गरेका हुन् । राष्ट्रपति सीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
त्यस्तै आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेकपा सचिवालयका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा शनिबार दुई दिने राजकीय नेपाल भ्रमणमा आएका राष्ट्रपति सीलाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यसैगरि राष्ट्रपति सीलाई विदाई पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले नै गर्ने भएका छन् । राष्ट्रपति सी त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।




प्रतिक्रिया