श्रमिकहरू इतिहासका निर्माता र समृद्धिका संवाहक हुन् : प्रधानमन्त्री प्रचण्ड

श्रमिकहरू इतिहासका निर्माता र समृद्धिका संवाहक हुन् : प्रधानमन्त्री प्रचण्ड

सामाजिक सुरक्षाको दायराबाट अब कोही बाहिर हुने छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् ।

काठमाडौंमा मंगलबार सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै उनले सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका हुन् ।

कोषलाई राज्यको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने एकीकृत संरचनामार्फत अघि बढाउने गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले भने, “कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्त्वपूर्ण संयन्त्र हो । यो संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्काेतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधार लुकेका हुन्छन् । अनौपचारिक क्षेत्रका श्रमिकले हात-पाखुरा चल्दासम्म श्रम गर्ने र नसक्ने भएपछि रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले सहयोग पुग्नेछ ।”

उनले समतामूलक न्यायपूर्ण समाजको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षका जगमा निर्मित नेपालको संविधानले श्रमिक वर्गको सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेकाले अन्यायमा परेका श्रमिकको अधिकार स्थापना गर्दै उनीहरूको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न नसकेसम्म संविधानको कार्यान्वयन हुन नसक्ने स्पष्ट गरे ।

श्रमिकहरू इतिहासका निर्माता र मुलुकको समृद्धिका संवाहक हुन् भन्ने तथ्यको मनन् गरेर नै सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनालाई आफूले शुभारम्भ गरेको स्मरण गर्दै नयाँ शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताए ।

यो योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाखभन्दा बढी रहेका सबै श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी बनाइने सरकारको तयारी छ ।