काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री पुष्पकमल दाहालबीच खटपट भएको दुवै पक्षको बोलीबाट स्पष्ट देखिएको छ ।
रास्वपा संसदीय दलका उपनेतासमेत रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले व्यक्त गरेको धारणामाथि प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएपछि दुई पक्षबीच खटपट भएको विषय सतहमा आएको हो ।
खेलकुदमन्त्री श्रेष्ठले शनिबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आफूहरूले राजीनामा खल्तीमा बोकेर हिडेको र मिति राख्न मात्रै बाँकी रहेको बताएका थिए ।
‘केही चिजमा हामीले अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन अहिले नै तयार छ,’ मन्त्री श्रेष्ठले भनेका थिए, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ, त्यो तयार गरी बोकेर हिँडिरहेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेता सबै बसेर सल्लाह पनि भएको छ ।’
मन्त्री श्रेष्ठले यस्तो धारणा व्यक्त गरेको दुई दिनमै प्रधानमन्त्री दाहालले त्यो अभिव्यक्तिको जवाफ दिएका छन् । दाहालले रास्वपाले आफ्नो पहिचान जोगाउन ‘राजीनामा दिन्छु’ भन्नुपर्ने बाध्यता आइपरेको बताएका छन् ।
सोमबार चितवनमा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले त्यस्तो बाध्यता आइपरे पनि रास्वपाले राजीनामा दिन्छ भन्ने आफूलाई नलागेको बताएर खटपट रहेको संकेत गरे । ‘रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर, आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर, मैले बुझेकोमा त्यस्तो केही पनि छैन,’ दाहालले भने ।
खेलकुदमन्त्री श्रेष्ठले राजीनामा गोजीमा बोकेर हिँडेको भनेर राखेको धारणालाई आधार बनाएर गरेको प्रश्नमा दाहालले उहाँहरूको बाध्यताका कारण त्यस्तो अभिव्यक्ति दिनु भएको होला भनेर प्रश्नलाई टार्ने कोसिस् गरे ।
प्रधानमन्त्रीको हाउभाउ हेर्दा गडबडी भएको स्पष्ट रूपमै झल्कन्थ्यो । मन्त्री श्रेष्ठको भनाइलाई धेरैले बार्गेनिङका रूपमा अथ्र्याइरहेको बेलामा दाहालको प्रतिक्रिया गठबन्धनमा ठाकठुक भएको विषयलाई बल पुग्नेगरी आएपछि अब गठबन्धन कसरी अघि बढ्छ भन्नेमा धेरैले चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीसँग असन्तुष्टि रास्वपाको मात्रै होइन, एमालेको पनि त्यस्तै छ । यसबारे पनि पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । त्यसको जवाफ पनि उनले टार्ने तरिकाले दिए ।
बजेटप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टिबारे पत्रकारहरूले सोधेको प्रश्नमा दाहालले एमाले र ओलीको असन्तुष्टि देखाउनलाई मात्रै भएको बताए । ‘केपी ओलीले बजेटमा असन्तुष्टि जस्तो मात्र देखियो, साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन यो राम्रैसँग जान्छ,’ दाहालले भने ।
गठबन्धन परिवर्तन गरेको १०० दिन पुगेकोबारे समीक्षा सुनाउँदै सरकार सञ्चालन सन्तोषजनकै भए पनि विगतमा भनेजस्तै राष्ट्र र जनताको पक्षमा गति दिन आवश्यक भएको पनि बताए । ‘सय दिनको उपलब्धि समग्रमा सन्तोषजनक छ । नीति, कार्यक्रम र बजेट परिवर्तन हुन्छ । सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा पहल भएको छ,’ दाहालको भनाइ थियो ।




प्रतिक्रिया