काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ ।
२ वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।
बाढीपछि सरकारले राहत तथा पुन:स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार कोषमा मौज्दात रहेको रकममध्ये आवश्यकताअनुसार प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुन:स्थापनाका लागि खर्च गरिनेछ ।




प्रतिक्रिया