काठमाण्डु – काठमाण्डुका चर्चित गुण्डा नाइके कुमार घैँटेका सहयोगि मानिने ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले गुन्डा नाइकेको रुपमा चिनिएका युवराज गुरुङसहित १८ जनालाई गएराति काठमाण्डुबाट पक्राउ गरेको छ।
उनीहरूलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी रमेश थापाले जानकारी दिए।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका सानुभाइ काठमाण्डुको टोखास्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए। ३३ वर्षीय उनी यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
उनी प्रहरी इन्काउन्टरमा ३ भदौ २०७२ मा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् । अहिले हाल हिरासतमा रहेका अर्का गुण्डा नाइके समिरमान सिंह बस्नेत निकट मानिन्छन् ।
प्रहरीले विगत केही दिनदेखि काठमाण्डुमा गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ। शुक्रबार राति पनि प्रहरीले १५० जनाभन्दा धेरैलाई पक्राउ गरेको थियो।
अहिलेसम्म गुण्डागर्दीमा संलग्न ३७ जनासहित काठमाण्डुबाट १९५ जनालाई नियन्त्रणमा लिइएको एसएसपी थापाले बताए ।




प्रतिक्रिया