पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारले गरेकाे हाे: चिनियाँ राजदूत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारले गरेकाे हाे: चिनियाँ राजदूत

‘नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा भन्दा अग्लो छ’


काठमाण्डु- नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उसोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् ।

 ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’, उनले भने ।

त्यस्तै सोही कार्यक्रममार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे ।

‘यो शुरुवात गर्नु धेरै ठूलो कुरा हो । यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ’ मन्त्री किराँतीले भने, ‘सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’, उनले भने ।