काठमाण्डु – पोखरा महानगरपालिकाले जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनाको लगत संकलन गरेको छ ।
५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो ।
महानगरपालिकाको कार्यपालिकाले क्षतिको लगत संकलन गरी असोज १ गतेदेखि सरकारी विद्यालय सञ्चालन गर्ने जनाएको छ ।
महानगरले क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने तयारी पनि गरेको छ ।
भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए ।
कास्की समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन युएई पुगेका मेयर धनराज आचार्य अझै उतै रहेको र भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।
‘असोज १ गतेभित्र महानगरको प्रशासनिक भवन, महाशाखा, वडा कार्यालयहरुमा पुगेको क्षति, कागजात र दस्तावेजको अवस्था र बाँकी रहेका संरचनाको विवरण संकलन गर्ने निर्णय भएको प्रवक्ता तिमिल्सिनाले बताए ।
जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्कीमा सबैभन्दा पहिले पोखरा महानगरपालिकाको कार्यालयबाट सरकारी संरचना तोडफोड तथा आगजनीको शृंखला सुरु भएको थियो ।
प्रदर्शनकारीले महानगरको कार्यालय जलाएर ध्वस्त बनाएका छन् भने अधिकांश वडाहरुसमेत तोडफोड र आगजनी भएका छन् ।
महानगरपालिकासँगै मेयर धनराज आचार्यको घर, उनको परिवारको सदस्यले खोलेको पोखरा इभेन्ट सेन्टर पनि आन्दोलनका क्रममा जलाइएको छ । मेयर आचार्यले शनिबार सामाजिक सञ्जालमार्फत दोषीमाथि कारबाही गर्नसमेत गरेका थिए ।




प्रतिक्रिया