काठमाण्डु – पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत बनेका अस्थायी संरचना हटाइएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानै डोजर लगाइएको ती संरचनाहरू हटाइएको हो । तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा प्रहरी परिचालन गरेर डोजर चलेको हो ।
सरंचना हटाउन जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको थियो ।
त्यहाँ रहेको चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार मापदण्ड विपरीत बनेका ३० वटा संरचनामा डोजर चलेको हो ।
पोखरा महानगरले पनि बेलाबेला डोजर चलाउने गरेको थियो । पछिल्लो समय सर्वोच्चको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ ।
मन्त्रिपरिषद् बैठकले पनि शासकीय सुधारका लागि तय गरिएका एक सय कार्यसूची अन्तर्गत फेवातालको अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्दै तीन महिनाभित्र प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
त्यसअघि सर्वोच्च अदालतले गत २०८० असार ४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्धन गर्नू गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो ।
अहिले ६५ मिटरको सीमाना छुट्याउने काम चलिरहेको छ । बुधबार पोखरा महानगरले हालसम्म भएको प्रगति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो ।








प्रतिक्रिया