कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडान अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो। हाल विमानस्थलबाट बिहान ६:०० बजेदेखि साँझ ४:०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२:०० बजेसम्म उडान गर्न सकिने बताइन्छ।
बिहीबार साँझ पोखराका लागि काठमाडौं, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन्।
‘पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि बुद्धले बिहीबारदेखि रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ। बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्’, उनले भने।
यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन। मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो।




प्रतिक्रिया