काठमाण्डु – विभिन्न मितिमा हराएका १५ वटा मोटरसाइकल खोजेर ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज मंगलबार आयोजित कार्यक्रमबीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १२ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सानेपा, सातदोबाटो, स्वयम्भु, सुकेधारा, कोटेश्वर, बालाजु, सोह्रखुट्टे, कीर्तिपुर लगायतका स्थानमा ट्राफिक प्रहरीले फेला पारेको थियो ।
सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्वन गर्न प्रहरीले अनुरोध गरेको छ ।
मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।




प्रतिक्रिया