प्रहरीका ४ जना डीआईजीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका ४ जना डीआईजीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका ४ जना डीआईजीहरू सोमबार दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

चारै जना उपप्रधान तथा गृहमन्त्रीस्तरको आईतबारको निर्णयबाट पदोन्नति भएका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने डीआईजीहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवान प्रसाद कुशवाहलाई समेत आईजीपी कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण सम्भाव्य आधारहरूको मूल्यांकन गरी पदोन्नति गरिएको बताए । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै आईजीपी कुँवरले भने, ‘राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवं निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनि विश्वास लिएको छु ।’

आईजीपी कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाइमा पुर्‍याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्यांकन हुने भएकाले सकारात्मक ऊर्जा, मेहनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए । प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्त्वका साथ हेर्ने गरेको उल्लेख गर्दै आईजीपी कुँवरले भने, ‘प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।’

आईजीपी कुँवरले संगठनको बृहत्तर हितको कुरा गर्दा पद वा व्यक्ति गौण हुने र संगठनले दिएको जिम्मेवारी प्रमुख हुन आउने चर्चा गर्दै इमान्दारीपूर्वक संगठनको हितमा समर्पित रहनु लक्ष्य प्राप्तिको आधार हो भन्ने कुरामा जोड दिए । संगठनका कुनै सदस्यहरूबाट प्रदर्शित गैरव्यावसायिकताका कारण सिंगो नेपाल प्रहरी संगठन लज्जित हुनुपर्ने अवस्था देखा परेमा कुनै हालतमा सहनयोग्य नहुने विचार उनले व्यक्त गरे ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोखरेलले राज्य र संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा गम्भीर भएर पूरा गर्ने बताए । प्रचलित ऐन, कानून, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको उद्देश्य प्राप्ति र श्रीवृद्धिमा समर्पित भई त्रुटिरहित तरिकाले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।