काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना २०८० तथा चालू आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम प्रहरी प्रधान कार्यालयमा भएको छ ।
मंगलबार भएको समीक्षाका अवसरमा आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन गरे ।
कार्यक्रममा आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधारविन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालू आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उनले उल्लेख गरे ।
आईजीपी कुँवरले कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना तथ्यांकमा मात्र सीमित नभई परिणाममुखी बनाउनेतर्फ संवेदनशील हुनुपर्ने उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, हिरासत व्यवस्थापन लगायतका कार्यमा अझ बढी क्रियाशील हुनुपर्ने बताए । पेन्डिङ मुद्दा फछ्र्यौट एवं विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
प्रहरी संगठनको बृहत्तर हितका लागि थप सिर्जनशील हुन समेत उनले प्रहरी कर्मचारीहरूलाई आग्रह गरे । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवं अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रमुख एवम् प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्यप्रगति विवरण लगायतका विषयहरू समेटिएका थिए ।
यसैगरी काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवं प्रतिनिधिहरूले समेत आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्यप्रगति विवरण, प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, प्रदेश प्रहरी गण तथा विशेष सुरक्षा गणका प्रमुखहरू, ३ वटै परिसर एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको ‘भर्चुअल’ उपस्थिति थियो ।
प्रतिक्रिया