काठमाण्डु – नेपाल प्रहरीले लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच महाअभियान शुभारम्भ गरिएको छ ।
गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन महाअभियानको शुभारम्भ गरे । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरू, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताए । लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखापरेको र लागूऔषध दुर्व्यसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरूमा समेत वृद्धि भइरहेकाले यसको न्युनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासको साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लागूऔषधविरूद्ध लड्न जरूरी रहेको उनले बताए ।
गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको बताए । लागूऔषध दुव्र्यसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता, समन्वय, साझेदारी र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवं सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गइरहेकाले यसको न्युनीकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताए । व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उनले उल्लेख गरे । सुरक्षित, स्वच्छ र लागूऔषधरहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधविरूद्ध जनचेतना फैलाउँदै यसको न्युनस्करण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई विशेष प्रकृतिको परिणाममुखी अभियान सञ्चालनको आवश्यकता रहेको बताउँदै समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समूहहरू एवं सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागिताले महाअभियानको प्रभावकारीता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताए ।
लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसको लागि सरोकारवाला सबै पक्षहरूको संयुक्त सहकार्य, साथ, सहयोग र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले लागूऔषध कारोबार तथा दुव्र्यवसनीका घटना न्युनीकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकाल तथा नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति दुजाङ शेर्पाबीच लागूऔषधविरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदानप्रदान समेत भएको थियो ।
कार्यक्रममा काठमाण्डु महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ–आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो ।
काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित महाअभियान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, सञ्चारकर्मीहरू, कलाकारहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रितहरूको समेत उपस्थिति थियो ।




प्रतिक्रिया