प्रहरीका १५ जना अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका १५ जना अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, गृह मन्त्रलाय (सचिवस्तर) को २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नति व्यक्तिगत एवं व्यावसायिक जीवनको महत्त्वपूर्ण पक्ष भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको लक्ष्य र हित अनुरूप बहन गरी उत्कृष्ट कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्राविधिक सेवा समूहको महत्त्वपूर्ण भूमिका हुने बताउँदै प्रविधिको प्रयोग गर्दै व्यवस्थित, प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले प्राप्त जिम्मेवारीलाई संगठनको उद्देश्य अनुरूप दत्तचित्त, लगनशील एवं अनुशासित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।