काठमाण्डु – प्रहरी प्रधान कार्यालयले विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्न मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको छ ।
प्रहरीले गर्ने प्रेस मिटहरूमा आरोपीलाई सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘कुनै कसूरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौं ।’
यसअघि महान्यायाधिवक्ताको कार्यालयले असार १९ गते कुनै पनि कसूरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।




प्रतिक्रिया