‘ओभरलोड’ नियन्त्रणमा कडाइ गर्न प्रहरी महानिरीक्षक थापालाई आग्रह

‘ओभरलोड’ नियन्त्रणमा कडाइ गर्न प्रहरी महानिरीक्षक थापालाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारीसाधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार सवारी तथा यातायात सम्बन्धी ऐन, नियम र मालबाहक सवारीसाधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ‘ओभरलोड’ प्रवृत्ति बढिरहेको छ ।

‘स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएकोभन्दा बढी भार बोक्ने र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानूनको सम्मान हुँदैन,’ बाँनियाँले भने ।

ज्ञापन पत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्युन जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख गरिएको छ । महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

महासंघले हालै सञ्चालनमा ल्याएको ‘भारवहन नियमन सफ्टवेयर’लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ ।

भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको स्वीकार गर्दै यस विषयमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानूनअनुसार बनाउने हाम्रो लक्ष्य हो । महासंघको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइनेछ ।’ महासंघले प्रहरी महानिरीक्षकमार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन विशेष आग्रह गरेको छ ।