रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १७ जना सदस्यको खोजीका लागि रामेछाप प्रहरी परिचालित भएको छ ।
स्थानीय करीब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र ज्वाइँसहित १७ जना बेपत्ता भएपछि उनीहरू रामेछापको हायु गाउँमा आएको हुनसक्ने भन्दै रामेछाप प्रहरी पनि खोजीमा जुटेको हो ।
रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नम्बर ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नम्बर ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ । उनीहरू यहाँका हायु समुदायका आफन्तको घरमा आएको हुनसक्ने आशंकामा खोजी सुरु गरिएको छ ।
‘रामेछाप नगरपालिकामा अन्तिम मोबाइल लोकेसन देखाएकाले रामेछापमा पनि खोजी सुरु गरिएको हो, खोजी जारी छ तर अहिलेसम्म पत्ता लागेको छैन,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले भने ।
एकान्तमा घर भएको सीमान्तकृत समुदायको परिवार ३ दिनअघिबाट बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।
बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करीब ८ लाख रुपैयाँ सामाजिक भत्ता बुझेर आएका हायु परिवार भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।
छिमेकीको घरनजिकै गोठमा बाँधेको पाडोलाई ३ दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैंसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमान्को गत वर्ष निधन भएको थियो । ‘श्रीमान् पोहोरसाल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो, ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, तीमध्ये एउटी छोरी काठमाण्डुतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ,’ श्रेष्ठले भने ।




प्रतिक्रिया