सेवानिवृत्त आईजीपी थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

सेवानिवृत्त आईजीपी थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३० वर्षे सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेकबहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामनासहित हार्दिक बिदाइ गरे ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमान्दारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवं प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगीकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उनले बताए । संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धीकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधारमार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको उनले बताए ।

आईजीपी थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उनले व्यक्त गरे ।

आईजीपी थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार समेत प्रकट गरे । समारोहमा थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवं प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गरे ।

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे । सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्तपछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आ–आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ गरियो । उनीहरूलाई श्रीमती भावना श्रेष्ठ खापुङले शुभकामनासहित हार्दिक बिदाइ गरेकी थिइन् । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।