गृहसचिव दंगालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

गृहसचिव दंगालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहसचिव रामेश्वर दंगालले आईतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।

निरीक्षणपश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुन:स्थापित गर्ने कार्यमा आमनागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरीप्रति जनताको आशा एवं भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताए ।

नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवं रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उनले बताए । प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन, कानूनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताए । गृहसचिवबाट व्यक्त भएका समयसापेक्ष र व्यावसायिक निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी कार्यक्षेत्रमा लागू गर्ने उनले बताए ।

प्रहरीको क्षमतामा राज्यको प्रभावकारिता प्रतिबिम्बित हुने वास्तविकतालाई मनन गर्दै संगठन र यसमा आबद्ध जनशक्तिको क्षमता, दक्षता एवं मनोबल अभिवृद्धिसँगै स्रोतसाधनको उपलब्धतामा गृहसचिवबाट निरन्तर पहल हुने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाह गरिरहने बताए । हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमूखी र वैज्ञानिक बनाई न्यायिक प्रक्रियामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै हाल चुनौतीका रूपमा देखापरेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताए ।

निरीक्षण भ्रमणको क्रममा गृहसचिव रामेश्वर दंगालसमक्ष प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवं विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत संख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।