नवलपरासीपूर्व – प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले कावासोतीमा निर्माण गरिएको प्रहरी कल्याण कोष पेट्रोल पम्पको आईतबार उद्घाटन गरेका छन् ।
उद्घाटनपछि आईजीपी खापुङले पेट्रोल पम्प र नयाँ भवनको निरीक्षण गर्दै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे ।
कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न समुदायसँग सहकार्य गर्दै आएको बताए । उनले नवनिर्मित पेट्रोल पम्पले प्रहरी कर्मचारी र स्थानीय वासिन्दालाई गुणस्तरीय इन्धन सेवा उपलब्ध गराउने र नागरिक–प्रहरीबीचको विश्वास र सहकार्य बलियो बनाउने विश्वास व्यक्त गरे ।
प्रहरी संगठन राज्यको विश्वासिलो निकायका रूपमा रहेको बताउँदै उनले जनअपेक्षाअनुरूप नागरिकमैत्री सेवा प्रवाहमा सक्रिय रहन प्रहरीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसाल र नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भविश्वर पाण्डेले शुभकामना मन्तव्य दिएका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) संजयसिंह थापाले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्राविधिक डीएसपी चिरञ्जीवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरी कल्याण कोषको करीब १० करोड ९८ लाख रुपैयाँ लागतमा पेट्रोल पम्प र सम्बन्धित पूर्वाधार निर्माण गरिएको छ ।
कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, बुद्धिजीवी र प्रहरी अधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया