सेवा निवृत्त आईजीपी खापुङ्गसहित वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

सेवा निवृत्त आईजीपी खापुङ्गसहित वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुभकामनासहित हार्दिक बिदाइ गरेका छन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्य–मान्यता, भाइचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताए । संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एकढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्यााउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गरे ।

समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवं प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरे । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गरे ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न आरोह–अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र हाम्रा अग्रजहरूले मौलिक रूपमा थालनी गरेको सबै अनुकरणीय कार्यहरूलाई नेपाल प्रहरीको आगामी रणनीति र कार्ययोजनाहरूमा समेटेर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

सेवा निवृत्तपछि पनि सांगठनिक सुदृढीकरणको लागि रणनीतिक सुझाव र सकारात्मक पृष्ठपोषण प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरिएको छ । उनलाई श्रीमती नविना कार्कीले शुभकामनासहित हार्दिक बिदाइ गरेका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।