प्रहरीका ८ प्राविधिक अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका ८ प्राविधिक अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । प्रहरी संगठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी संगठनात्मक गतिशीलतामा थप योगदान पुर्‍याउन उनले निर्देशन समेत दिए ।

प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै नागरिकका समस्यालाई सम्बोधन गर्दै आफुलाई प्राप्त जिम्मेवारी उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच एवम् इमान्दारीपूर्वक सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । आसन्न निर्वाचनलाई मध्यनजर गरी देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय एवम् सहकार्य गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न समेत उनले बताए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमान्दारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।