प्रहरीका १६ जना एसपीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका १६ जना एसपीहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित


काठमाण्डु – गृह मन्त्रालय सचिवस्तरको २०८२ माघ ६ गते निर्णयअनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो क्षमता, कार्यकुशलता र संगठनप्रति पुर्‍याएको योगदानको उचित मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढी सिर्जनशील र परिणाममुखी भई कार्यसम्पादन गर्न दर्ज्यानी चिह्नबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

आईजीपी कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई उत्प्रेरित भई थप व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।