बरहथवा प्रहरीको नवनिर्मित भवन उद्घाटन

बरहथवा प्रहरीको नवनिर्मित भवन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले नवनिर्मित भवनको अवलोकन समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताए । नागरिकको हितमा अटल रही गुणस्तरीय सेवा प्रवाहमा सदैव क्रियाशील रहन उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिकको भावनाको धरोहर रहेको उल्लेख गर्दै यसको संरक्षण गर्ने दायित्व पनि सबै नागरिकहरूको रहेको बताए । आसन्न निर्वाचनलाई सभ्य, भयरहित र शान्तिपूर्ण किसिमले सम्पन्न गर्न सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत सबै प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बरहथवा नगरपालिकाका प्रमुख कल्पना कुमारी कटुवाल र सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले आ–आफ्नो शुभकामना व्यक्त गरेका थिए ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा यूएनओपीएसका अपरेसन कोअर्डिनेटर एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यूएनओपीएसका इन्फ्रास्टक्टर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यूएनओपीएसको सहयोगमा कुल २ करोड ३७ लाख ६३ हजार ३८२ रूपैयाँ ५७ पैसाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिति थियो ।