आईजीपी कार्कीद्वारा इप्रका बुटवलको नवनिर्मित भवन उद्घाटन

आईजीपी कार्कीद्वारा इप्रका बुटवलको नवनिर्मित भवन उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रममा आईजीपी कार्कीले स्रोतसाधनको सीमितताको बाबजुद नागरिकहरूप्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरूप्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधैं उत्प्रेरित गरेको चर्चा गरे । यस नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूप्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्त्वपूर्ण आधार सिर्जना गरेको उनले बताए ।

आईजीपी कार्कीले नवनिर्मित भवनले नागरिकहरूले प्राप्त गर्ने प्रहरी सेवामा सहज र सुरक्षित पहुँच निर्माण गर्न मद्दत पुग्ने उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्मअनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए । विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उनले गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यूएनओपीएसका सिनियर इन्जिनीयर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । बेलायत सरकारको सहयोगमा कुल २ करोड ४१ लाख ४३ हजार ७५३ रूपैयाँ १२ पैसाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिति थियो ।