नवनिर्मित महिला सेवा केन्द्रको भवन उद्घाटन, सीमा अपराधमा रोक्न आईजीपीको निर्देशन

नवनिर्मित महिला सेवा केन्द्रको भवन उद्घाटन, सीमा अपराधमा रोक्न आईजीपीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बाराको सिम्रौनगढमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन गरेका छन् ।

बुधबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा आयोजित विशेष समारोहबिच उनले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनपश्चात् नवनिर्मित संरचनाको अवलोकन गर्दै महानिरीक्षक कार्कीले कार्यालय परिसरमा वृक्षारोपण समेत गरे । सो अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई उनले प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नयाँ भवनबाट प्रवाह हुने सेवाहरू थप नागरिकमैत्री, व्यावसायिक र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । ‘यो भवनबाट प्रवाह हुने सेवाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा लगायतका गतिविधिहरूलाई सम्बोधन गर्न सक्षम हुनेछ,’ उनले भने, ‘प्रहरीको सेवा निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्छ ।’

उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि र लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन दिए । लागूऔषध र सीमाजन्य अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।

यूएनओपीएसको २ करोड ५१ लाख ४२ हजार ५३४ रुपैयाँ २८ पैसाको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा यूएनओपीएसका सिनियर इन्जिनीयर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद ज्ञापन गरेका थिए । यूएनओपीएसका अपरेसन कोअर्डिनेटर एवं अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी र स्थानीयको उपस्थिति थियो ।